भक्तपुर । एक महिना लामो गुँंला पर्व शुक्रबार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाबाट यो पर्व सुरु हुने परम्परा रहिआएको छ । नेपाल भाषामा गुँं को अर्थ नवौ र ला को अर्थ महिना हो । यसरी गुँलाको पूरा अर्थ नवौ महिना हो । प्रत्येक वर्ष नेपाल सम्वतको नवौं महिनामा पर्ने भएकाले यो पर्वलाई गुँंला पर्व भनिएको हो ।
पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँंठाउँंमा बाजा बजाएर नगर परिक्रमा गर्ने चलन छ । प्रत्येक दिन विहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बी आफनो छुटाछुटै रुपमा बहाबहीहरु परिक्रमा गर्ने गर्दछन् । गुला बाजा टोलीमा बाँसुरी, खिं (एक प्रकारका मादल) लगायतका बाद्यबादन बजाई एक टोली जाने गर्दछन् ।
काठमाडौ उपत्यकामा विशेष गरेर शाक्य र बज्राचार्य थर भएका समुदायले बाजा बजाउने चलन छ । पर्वका क्रममा दैनिक विहान बाजागाजा बजाई मठमन्दिर, वौद्ध विहार र चैत्यमा जाने गर्दछन् । शाक्य बज्राचार्यबाहेक यो बाजा कंशाकार, मानन्धर अनि प्रजापति थरका समुदायले पनि बजाई छुटाछुटै रुपमा परिक्रमा गर्ने गर्दछन्् । उनीहरु पनि यसरी नै आआफनो क्षेत्रका बहाबहीमा बाजागाजा बजाई नगर परिक्रमा गर्ने गर्दछन् ।
एक महिने पर्वको अवसरमा प्रत्येक दिन आआफनो क्षेत्रका मठमन्दिर, बौद्ध विहारका साथै विशेष दिनहरुमा विशेष ठाउँंहरुमा घुम्ने गर्दछन्् । गुँंला बाजाको टोलीले नाग पञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनैपूर्णिमा पाटनको बंगलामुखी मन्दिर पुग्ने गर्दछन् । साथै कृष्ण जन्माष्टमीका दिन काठमाडौंको स्वय्म्भुनाथ, विजेश्वरी, शोभा भगवती, मरुगणेश, जनबाहाल, सेतो मच्छिन्द्रनाथ परिक्रममा गरिने चलन छ । साथसाथै यो अवधिमा भक्तपुरको सूर्यविनायक, राममन्दिर, नवदुर्गा देवता घर, दत्तात्रय, पाचतल्ले मन्दिर, कमलविनायक परिक्रममा गरिने परम्परा छ । अन्तिम दिन गुला प्रतिपदाका दिन ललितपुरको बुङ्मती, कार्यविनायक, खोकना, जलविनायक हुदै चोभारको करुणामय (आदित्यनाथ) परिक्रमा गर्ने परम्परा रहेको छ ।
आजदेखि एकमहिने गुँंला पर्व सुरु