– रामेश्वर मचामसी

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ जातजाति रहेका छन् । जसमध्ये नेवार जाति १३ लाख ४१ हजार ३ सय ६३ अर्थात ४ दशमलब ६ प्रतिशत रहेका छन् । नेपालमा रहेका सबै जातिको आ-आफ्नै संस्कृति हुन्छ, आ-आफ्नै संस्कार हुन्छ । तिनै संस्कृति र संस्कार आफूलाई अति प्यारो लाग्छ । त्यस्तै प्रतिशतको आधारमा आठौं स्थानमा रहेको नेवार जाति संस्कृति र संस्कारमा पनि उत्तिनै धनी जातिमा पर्दछ । यिनै नेवार जातिको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कारमध्ये छोरीलाई गरिने एउटा महत्वपूर्ण संस्कार बाह्रा अर्थात गुफा राख्ने पनि एउटा हो । नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरूको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जसमा बेललाई साक्षी राखी सुवर्णकुमारसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बाह्रा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । केही समुदायहरूमा केटीहरूको पहिलो रजस्वलाको समयमा गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।

बाह्रा राख्ने अर्थात गुफा राख्ने नेवार जातिको धेरै संस्कारमध्ये एउटा यस्तो संस्कार हो जुन ‘इहि’ अर्थात बेल विवाह गरिसकेपछि र रजस्वला हुनुपूर्व साइत हेरेर विधिपूर्वक गरिन्छ । यदि रजस्वला भएको खण्डमा रजस्वला भएकै दिनदेखि गरिन्छ । नेवार समुदायको प्रत्येक बालिकालाई ‘बाह्रा तयगु’ (गुफा राख्ने) संस्कार गर्नुपर्छ । यो संस्कार १२ दिनसम्म चल्छ । धेरैजसो केटीको बिजोर उमेर (७, ९, ११, १३) पारेर साइत हेरी गुफा राख्ने गर्दछ । घाम नआउने गरी अँध्यारो कोठामा केटीलाई १२ दिन थुनेर गर्ने यो गुफा कर्म हो । लामो अवधिको कार्य भएपनि दुई पक्ष पारेर गुफाको साइत दिँदैन । त्यस्तै दुई शनिवार र दुई आइतवार पनि परेको हुनुहुँदैन । साथै बाह्रा राख्दा १२ दिनको बीचमा दुई पक्ष औंसी र पूर्णिमा, संक्रान्ति, धनेष्ठादि पंचक नपरेको पक्ष पार्नुपर्दछ । केहि गरी गुफा नराख्दै रजस्वला भयो भने तरून्तै गुफा राख्नुपर्छ वा रजस्वला भएकै दिनबाट गर्ने पनि चलन छ । यो साइत नचाहिने गरी गुफा बस्ने भएकोले पक्ष, बार र उमेरको मतलव हुँदैन । गुफा राखेको वेला सूर्य मात्र नदेखाउने होइन केटा तथा लोग्ने मान्छेहरू पनि देखाउँदैनन् । केटी र आइमाईहरूले मात्र हेर्नहुने भएकोले तिनीहरू मात्र गुफा राखेको कोठाभित्र जान मिल्छ । दिदीसंगै बहिनीहरूलाई पनि संगै गुफा राख्ने पनि गरिन्छ । कसैकसैले त संगै गुफा राख्ने बेलामा तिनीहरू अन्तिम एक दिन मात्रसंगै थुनेर भोलिपल्ट निकाले पुग्छ भन्नेहरू पनि छन् । तैपनि एकै पेटका तीनजना केटीहरूको गुफा राख्ने संस्कार एकैपल्ट गर्नु हुँदैन ।

गुफा राख्नु भनेको केटी तरूनी भएको ठानी र शारीरिक परिवर्तन आएको ठानी आवश्यक प्रशिक्षण दिनु हो । रजस्वला हुने प्रकृतिदेखि नडराउने पार्न र यो प्राकृतिक प्रकृया नै हो डराउनु पर्दैन भनी बुझाउनु हो । केटीहरूको सिंगारपटार गर्नु भनेको चाहिने कुरा हो भनेर सौन्दर्य प्रशाधनको ज्ञान दिने अवसर पनि गुफा राख्ने संस्कारलाई लिइन्छ । आइमाइ र लोग्नेमान्छेको जीवनयापनको बारे थाहा भएका थकाली आइमाईहरू मिलेर सिकाइदिने हो । आइमाइमा आमा हुन सक्ने शारीरिक र मानसिक क्षमता छ भनेर विश्वास दिलाउनु हो । केटीलाई यौन शिक्षा दिएर यसको बारे गुफा बसेको केटीले प्रश्न गरोस् भनेर उक्साएर चाहिने जति यौन ज्ञान सिकाउनु हो । त्यसैले गुफा कोठामा बसेर श्रृंगार गर्ने, किसिम किसिमको लुगा लगाएर नक्कल गर्ने, गीत गाउने, नाच्ने, जिस्किने, साथीहरूसंग बसेर विभिन्न गफ गर्ने, गट्टा र पुतली खेल्ने आदि गुफा कोठाको दिनचर्या नै हो ।

गुफा राखेको बेला जुठो बाँध्ने, चुल्ठो बाट्ने आदि थरीथरीका कपाल बनाउने तरिका अपनाउँदै आएको छ । पहिला पहिला सानैमा विवाह (बाल विवाहको बेला) गरेर पठाउने चलन भएकोले केटीहरू गुफा नराख्दै अन्माउने पनि गर्दथ्यो । यस्तो अवस्थामा विवाह भएपनि केटा र केटीलाई एउटै कोठा नदिई छुट्याएर सुताउने गरेको छ । गुफा राखेपछि मात्र निकाल्दा लोग्नेले सिन्दूर राख्न दिन्छ । त्यसपछि मात्र लोग्ने र त्यो केटीलाई एउटै कोठा दिने गर्दछ । गुफा नराखी विवाह भएकी केटीलाई लोग्नेकै घरमा गुफा राख्ने चलन पनि छ । यसरी हेर्दा पनि गुफा भनेकै जीवनमा यौनशिक्षा दिने र विवाह योग्य भयो भनेर सूचित गर्ने संस्कारको हो भन्न सकिन्छ ।

सूर्यको ज्योति नदेखिने गरी प्वालहरू समेत टालेको कोठामा एउटा कपासको ‘गुफा ख्याक’ बनाई स्थापना गरिराख्छ । कसैकसैले अँध्यारो कोठाको दलिनमा सेतो कपडाको चन्द्रमा आकार आउनेगरि टाँस्नुपर्छ । तारा भनेर तीनवटा गोलो आकार पनि टाँस्नुपर्छ । अनि सूर्य आकार आउने गरी बाह कुना भएको कपास पनि टाँस्नुपर्छ । यी चन्द्रमा, सूर्य टाँस्नुको अर्थ सबै अन्तरिक्षको देवताहरूको आह्वान गरी रात र दिन छुट्याउन नसक्ने गरी कोठामा मात्र बस्ने गरेको हो भन्ने पनि चलन छ ।

क) गुफा राख्ने दिन किसली ढोगाउने

केटीलाई नुहाउन दिई चोखो पारेर दही सगुन दिएर दही चिउरा ख्वाएर साइत अनुसार समयमा गुफा कोठा भित्र थुनिदिन्छ । किसली (एउटा सलिंचामा चामल, एक गेडा सुपारी, पैसा राखिएकोलाई किसली भनिन्छ ।) ढोगाएर अलग्ग राखिछोड्छ । आ-आफ्नो परम्परागत विधि अनुसार घरको मुलीले क्वँ भाँडोमा क्वँ र तेलको भाँडोमा तेल राखेर गुफा ख्याकलाई चढाएर पुजा गर्दछ । त्यसपछि गुफा बसेकी केटी बाहिर आउन पाउँदैनन् । गुफा बसेकी केटीलाई ख्वाउनु अघि सबै खानेकुरा गुफा ख्याकलाई चढाएर मात्र केटीलाई ख्वाउँछ । गुफा बसेको अवधि भरी गुफा ख्याकले केटीलाई रक्षा गर्छ भन्ने विश्वास छ । गुफा कोठामा गुफा साथी भनेर एउटा केटी पनि राख्ने गर्दछ । गुफा बसेकी केटीको नित्यकर्म पनि कोठामा नै गर्नुपर्ने भएकोले फाल्न लग्ने साथी पनि चाहिएको हो ।

ख) क्वंचिकं सायेके

गुफा राखेको चार दिनपछि क्वँ र तेल लगाउन दिन्छ । यसलाई ‘क्वँचिकं सायेकेगु’ भनिन्छ । कसै कसैको संस्कारमा यो छैठौं दिनमा मात्र गर्ने चलन पनि छ । क्वँ (पिना) लिई मुख धुन लगाउँछ । क्वँचिकं भनेको चामलको पीठो, तोरी, पिना, जौ तेलमा मिसाएर बनेको लेदो शरीरमा, मुखमा लगाएर राम्रो पार्ने परम्परादेखि चल्दै आएको सौन्दर्य प्रक्रिया हो । यसबेलादेखि अन्य सौन्दर्यका गतिविधि पनि प्रयोग गर्न मिल्छ । क्वँचिकंको काम नभएसम्म केटीले नून खानु हुँदैन । क्वँचिकंको काम सकेपछि नून खान हुने भयो । यसबेलादेखि ‘जयबिली’ लाग्छ । अनि आफ्नो नजिकको नाता, जहान परिवारहरूले देवता पूजा गर्नु हुँदैन । गुफा ननिकालेसम्म बार्नुपर्छ । त्यसैले क्वँचिकंको काम कहिले हुने हो आफन्तलाई थाहा दिनुपर्छ ।

ग) छुस्यामुस्या ख्वाउने (नसा नकवानेगु)

गुफा राख्ने संस्कारको अर्को महत्वपूर्ण कार्य छुस्यामुस्या ख्वाउने (नसा नकवानेगु) हो । आफ्ना नातागोताहरूले भुटेको मकै, भटमास ख्वाउन ल्याउँछ । १२ दिन पुग्नुभन्दा अघि नै केटीको फुपू र मामा खलकले मकै, भटमास, चामल, गहुँ, चना, केराउ, बदाम, सिमी, बकुलाः आदि भुटेको गेडागुडी, खानेकुरा रोटी र फलफुल लिएर खुवाउन आउने गर्दछ । यसरी आउनेहरूलाई राम्ररी खुवाएर पनि फिर्ता पठाउनुपर्छ । कसैकसैको गुफा बसेको एघारौं दिनको राति लुगा फेर्न दिई नुहाएर लुगा धुन दिने चलन छ । यसरी आमाहरूले लुगा धोइदिँदा पनि कसैले नदेख्ने गरी धुनुपर्छ भन्ने मान्यता छ ।

घ) बाह्रा पिकाएगु (गुफा निकाल्ने)

गुफा राखेको १२औं दिनमा बाह्रा पिकायगु (गुफा निकाल्ने) कार्य गरिन्छ । गुफा बसेको केटीलाई नुहाउन दिई हात गोडाको नङ काट्न लगाई आधा पाइतालामा ‘अलः’ (एक किसिमको रातो रंगको परम्परागत पालिस) लगाईदिन्छ । अन्माउन लागेको दुलही जस्तै राम्ररी कोरीबाटी सिँगारी, भए तासको चालो लगाई दोपट्टा सारी लगाई, गहना लगाई छोपी साँचो समाउन लगाई करूवाले पानी तर्काउँदै बाहिर ल्याउँछ । बातामा पानी थापी किसली र पैसा चढाई पहिला पानीमा सूर्यको छायाँ दर्शन गराए पछि मात्र आकाशमा सूर्य दर्शन गराउँदछ । थकालिले ‘ज्वाला न्हायकं’ (परम्परागत लीः अर्थात तामाको ऐना) दर्शन गराएपछि थकालिनीले सिन्हःमू भित्रको सिन्दूर लिएर सिउँदो लगाईदिन्छ । अनि मात्र बुबाको अनुहार देखाउँछ । यसरी सूर्यसंग विवाह गरिदिने कारण नेवार केटी कहिल्यै विधवा नहोस् भन्ने हेतुले हो । यसपछि केटीलाई ‘बारां छुइकेगु’ गर्छ । मामाहरू, फुपुहरू अनि नजिकको नातेदारहरूले चामल, कपडा र दक्षिणा दिन्छन् । साथै आफन्तहरूबाट पनि दुई हात भरी चामल दिइ तीन चोटी ढोग्न लगाइ वस्त्र, चोलो आदि पनि बालिकालाई दिइन्छ । आफ्नो टोलको गणेश दर्शन गरेर पीठ, कुलदेवताको साथै अन्य देवताहरू दर्शन गराउन लग्छ । घरमा स्वागत गरेर बालिकालाई बाबु, आमा, फुपूहरूबाट सगुन (दही, माछा, मासु, रक्सी, फलफूल इत्यादि) दिन लगाइन्छ । सो कार्य सकेपछि त्यस्तै यस कार्यलाई ‘बाह्रा छुकेगु’ भनिन्छ । सूर्यको दर्शन गराइ गुफा निकाल्ने कार्य सम्पन्न भइसकेपछि गुफा राखेको बालिका, गुफा राखेको बेला बालिकासंग साथी बस्ने, बालिकासंग खेल्न आउनेलगायत नजिकका नातेदारहरूलाई भोज खुवाउने गरिन्छ ।

अन्त्यमा बालिकालाई ‘थायभू’ (विशेष किसिमको परिकारहरू तयार गरी विशेष किसिमको थालमा राखी खुवाउने) खुवाउने कार्य गरिन्छ । खाइसकेपछि केहिगरी बालिकाको जुठो बाँकी रहेमा खानेकुराहरू घरको थकालीले वा मुलीले कुकुरले नछुने गरी खाली खुट्टामा ‘छ्वासः’ (फोहोर र कसिंगर फ्याक्ने दोबाटो वा चौबाटो) मा फ्याक्न लानुपर्दछ । यसपछि विधिवत रूपमा नै बाह्रा तयगु (गुफा राख्ने) कार्यको सम्पूर्ण कार्यहरू समाप्त भएको मानिन्छ ।

गुफा राखेकी केटी विरामी भएपनि देखाउनुहुँदैन भन्ने मान्यता छ । कथंकदाचित गुफा बसेकी बालिकाको गुफा बसेकै अवस्थामा मृत्यु भएमा मृत्यु भएकै कोठाबाट घरको तल्लाहरू भत्काएर भएपनि तल छिडीमा लास ल्याइ गाड्नु पर्छ भन्ने मान्यता रही आएको छ । तर आजकाल गुफा राखेको बेला नराम्रोसित बिरामी परिहाल्यो भने गुफा राखेको ठाउँमै महिला डाक्टरलाई बोलाएर भएपनि देखाउन लगाउँछ । केहिगरी धेरैनै विरामी भएमा गुफा राख्ने काम रोकेर भएपनि औषधि गर्न लाने गरिसक्यो ।  जे भएता पनि वयस्क हुँदै आएपछि शारिरीक र मानसिक परिवर्तनका साथै यौन क्रियाकलापप्रति होसियार भइ आफ्नो अस्मिता प्रत्येक केटीले जोगाउनु पर्ने कुराको सन्देश नेवार जातिको महत्वपूर्ण संस्कार गुफा राख्ने परम्परामा लुकेको पाइन्छ ।

ङ) गुफा निकाल्ने काम सम्पन्न भइसकेपछि

गुफा निकाल्ने काम सम्पन्न भइसकेपछि तेह्रौं दिन गुफा बसेको केटीहरू र गुफा साथी नदीमा गई गुफा ख्याक र त्यहाँ चढाएको अक्षता, फूल, पैसा, स्वाना सबै बगाउँछन् । नदीबाट फर्केर आएपछि ख्याक भाग भनेर ख्याकलाई राखेको भागसंगै मकै भटमास बाँडेर ख्वाउने गर्छ । कसैकसैले भोज पनि ख्वाउने गर्दछ । बौद्ध परम्पराअनुसार भने गुफा राख्ने प्रकृया अलग्गै छ । बौद्ध परम्पराअनुसार विहारमा लगेर गुरूआमाहरूको प्रत्यक्ष निगरानीमा कलेजी लुगा लगाउन दिइ ऋषिनी र भिक्षुणी वा अनागारिका बनाउने चलन छ । बुद्ध वचनअनुसार पञ्चशील प्रदान गरी दिनको एक छाक मात्र खान दिइ विहारमा राखेर फर्काएपछि सगुन दिने परम्परा पनि छ । यसो गर्दा कोहीकसैलाई भोज खुवाइराख्नु पर्दैन ।

 

कलश पुजा गरी गुफा निकाल्न चाहिने सामानहरू

कलश  १ वटा

सूर्य १ वटा

सिन्हःमू १ वटा

ज्वलान्हायक १ वटा

कोला १ वटा

धौपति ४ वटा

फलामको साँचो १ वटा

सुकुन्दा १ वटा

पाथी १ वटा

गाजल बट्टा १ वटा

ऐना १ वटा

शंख १ वटा

क्व राख्ने भाँडो १ वटा

तेल राख्ने भाँडो १ वटा

सन्दर्भ स्रोतः

१. श्रेष्ठ डा.तुलसी नारायण, नेपालका नेवारहरू पहिचान र पृष्ठभूमि

२. बज्राचार्य गणेश, नेवार संस्कृति तथा चाडपर्वहरू

३. राजभण्डारी विनोदमान, गर्भदेखि मरणोपरान्तसम्मको संस्कार

४. गुगल र सामाजिक सञ्जाल

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ