भक्तपुर । नेपालकै लामो जात्रा नवदुर्गा देवगणको डालाकेगु जात्राले भक्तपुर नगरलाई विश्वमा सांस्कृतिक नगरीको रुपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । जिवित देवताको रुपमा पुजिते नवदुर्गा देवगणको डालाकेगु जात्राु निरन्तर रुपमा परम्परागतरुपमा चलिरहेको छ। विशेषतः अनुहारमा देवी देवताको मकुण्डो लगाएर शास्त्रीय नृत्य तथा परम्परागत शैलीमा बाजागाजाको तालमा नवदुर्गाको नाच, डालाकेगु जात्रा तथा अन्य जात्राहरु हुने गर्दछ। हरेक वर्ष आठ महिना मकुण्डोसहितको जात्रा र ४ महिना मकुण्डो बिनाको जात्रा हुने गर्दछ । मकुण्डोबिनाको जात्रा अन्तर्गत नवदुर्गाको नामकरण पूजा पछि गाठामग चहेको दिन हुने नवदुर्गाको विशेष पूजा पनि महत्त्वपूर्ण पूजाको रुपमा लिइन्छ । यस वर्ष गाठामग चड़े साउन ७ गते आज बुधवारका दिन नवदुर्गामा पनि उक्त विशेष पूजा गरिनेछ । यो दिन नवदुर्गाको महादेवको सृष्टि पूजा गरिन्छ ।

यस विशेष पूजाको दिन बिहानै मन्दिरमा लितपोट गरी सरसफाइ गरिन्छ। यस वर्ष नवदुर्गा देवगण बन्ने उजाजु ९बनमाला० हरुबाट पूजाहरु तयार गरी भक्तपुर नपा वडा नं। ९, गहुँ स्थित नवदुर्गा मन्दिरमा भेला हुन्छन् । नवदुर्गाको थप पूजा समाग्रीहरु नकीबाट तयार गरिएका पूजा सामग्रीहरु सहित घाजीनं ९सेतो जामा० पोशाक लगाएका १९ जना देवगणहरु भक्तपुर नपा वडा नं. ६ यार्धेस्थित मकुण्डोघरमा माहाली बाजाका साथ प्रस्थान हुन्छन्। मकुण्डोघरमा पुगेपछि नवदुर्गाको महादेवको रुपमा राखेको यःचा (कालो माटो) मा पुनचा (चित्रकार) द्वारा नवदुर्गा मन्दिरबाट लगेको पूजा सामग्रीबाट सृष्टि पूजा गरिन्छ । विधिवतरुपमा महादेव सृष्टि पूजा गरिसकेपछि देवगणहरु भक्तपुर नपा वडा नं. ४ स्थित तालाक्यमा प्रस्थान हुनेछ । तालाक्वका हाकुज्या (माटोको भाँडाकुँडा बनाउने प्रजापति जाति) हरुको गई नवदुर्गा देवगणहरुबाट विधिवतरुपमा चा फ्यागु (माटो सम्मान पूजा) गरिन्छ। साथै यस वर्षको मकुण्डो निर्माण गर्न आवश्यक यःचा (कालो माटो) र वर्षभरि जात्रामा प्रयोग गरिने माटोका भाँडाकुँडाहरु तयार गर्न हाकुज्याहरुलाई अनुरोध तथा निम्तो दिने गरिन्छ। सो पूजा सम्पन्न भइसकेपछि देवगणहरु पुनः नवदुर्गा मन्दिरमा फर्किनेछ ।
मन्दिरमा पुगेपछि भलभल अष्टमीका दिनदेखि बजाउन बन्द गरेको खिं बाजा सो दिन एकजना देवगणबाट बजाएर बाजा फुकुवा गर्ने गरिन्छ। यस दिनदेखि भक्तपुरका मठ मन्दिर, दाफा भजन, बाजा समूह, भजनमण्डलहरुको बाजा बजाउन मिल्ने र बाजा बजाउन शुभराम्भ हुने मान्यता रहेको छ । बेलुका नवदुर्गा देवगण र तिनीहरुका परिवारका सबै सदस्यहरु मन्दिरमा उपस्थित भई प्रसादस्वरुप भोज खाने परम्परा रहेको छ ।
यस दिन भक्तपुरका टोलटोलमा गाठामगरुपमा पराल नरकट, छ्वाली तथा बाँसको प्रयोग गरी पुतला निर्माण गर्ने र बाजा बजाएर नगर परिक्रमा गराई अन्तमा कुनै निश्चित स्थानमा लगेर जलाउने गरिन्छ । नवदुर्गामा महादेवको सृष्टि सँगै नकारात्मक शक्ति गाठामगको अन्त्य र विनास हुने जनविश्वास रहेको छ। यसरी गाठामग चहेको दिन नवदुर्गाको विशेष सृष्टि पूजा र चा फ्यागु पूजा गरिन्छ ।